मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्यो त, सपना देख्नु पर्छः प्रधानमन्त्री
चैत २६
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडी अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट पार्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरेका छन् । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ ।...








