चैत २६
नेकपा (एमाले)ले चैत २९ गते बुटवलमा आयोजना गर्न लागेको जनसभाको अन्तिम तयारी पूरा भएको बताएको छ । मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।
गैरेले भने, “चैत २९ गतेको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ । यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर जनतालाई जागरण गर्ने कार्यक्रम हो ।” उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए । “त्यसका लागि रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।”
एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जनसभामा केन्द्रित गरिएको जानकारी दिए । “जनता अझै पनि एमालेको पक्षमा छन्, एमाले नेतृत्वको सरकारले गरेका कामलाई बुझेका छन्, २९ गतेको जनसभाले पनि यसको सन्देश दिने छ”-उनले भने ।
जनसभालाई सफल पार्न तथा प्रचार-प्रसार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको नेकपा एमाले रुपन्देहीले जनाएको छ ।