बैशाख २८,
गुल्मी- राष्ट्रिय स्वास्थ्य बीमा बोर्डको सहकार्यमा गुल्मीदरबार आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा औपचारिक रूपमा सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले कार्यक्रम लागू गरिएको बताउनुभयो ।
१२ करोड ९४ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको १५ शैय्याको अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा, प्रसूति, सुरक्षित गर्भपतन, फार्मेसी तथा अन्तरंग सेवा सञ्चालनमा छन् । स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार बीमामा आबद्ध नागरिकले निःशुल्क उपचार तथा औषधि सेवा पाउनेछन् ।
हाल गुल्मीदरबार गाउँपालिकाका १० हजार ६४१ नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । गाउँपालिकाले आगामी दिनमा विशेषज्ञ सेवा विस्तार गर्ने योजना समेत अघि बढाएको जनाएको छ ।