युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

फागुन १८,
नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा  पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ आजको मुख्य चुनौती रहेको बताउँदै त्यसको समाधानका लागि कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासमा जोड दिने बताउनु भएको हो ।

मतदातको घरदैलोमा पुगेर उम्मेदवार गैरेले संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको बताउनुभयो । यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहेको उम्मेदवार गैरको भनाइ थियो ।

प्रतिनिधिसभा देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले मतदाताले आवेग, उत्तेजना वा आक्रोशमा नभई विवेक र तथ्यका आधारमा मतदान गर्नुपर्ने उम्मेदवार गैरेले अनुरोध गर्नुभयो । उहाँले अर्गली क्षेत्र कृषिको उर्वर भूमि हो, यसलाई व्यावसायिक तरकारी खेतीको ‘पकेट क्षेत्र’ का रूपमा विकास गरी युवाहरूलाई गाउँमै उद्यमी बनाउने योजना रहेको बताउनुभयो ।

धार्मिक पर्यटनको प्रसङ्ग निकाल्दै गैरेले विश्वप्रसिद्ध ऋषिकेश मन्दिरको थप प्रचार–प्रसार र विकास गरी पाल्पाको आर्थिक समृद्धिको आधार तयार पार्ने समेत उल्लेख गर्नुभयो । पर्यटन र कृषिको एकीकृत विकासमार्फत नै जिल्लाको मुहार फेर्न सकिने उहाँको भनाइ थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज