फागुन १८,
२०७९ सालको निर्वाचनताका निस्दी गाउँपालिका विद्युतविहीन रहेको विषयले व्यापक चर्चा पाएको थियो । तर जनताको अटल विश्वास र बलियो जनमतका आधारमा निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलपछि निस्दी मात्र होइन, समग्र पाल्पा जिल्लालाई पूर्ण विद्युतीकरणतर्फ उन्मुख गराउने कामले गति लिएको छ । अँध्यारो गाउँ–बस्ती उज्यालो बनाउने प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको दाबी उहाँले गर्नुभएको छ ।
चुनावी प्रचारप्रसार अभियानमा जनताको घरदैलोमा पुग्नुभएका आचार्यले रामपुर–मित्याल–आरुणखोला सडकमा पछिल्ला ती आर्थिक वर्षमा आर्थिक वर्षमा निरन्तर संघीय बजेट विनियोजन भई निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । विभिन्न खण्डमा स्तरोन्नति, आवश्यक पुल निर्माण तथा संरचनागत सुधारमा आफ्नो सक्रियता निरन्तर रहेको दावी उहाँको छ । त्यस्तैगरी आर्यभञ्ज्याङ-रामपुर सडकका लागि संघ र प्रदेश दुवै सरकारबाट बजेट सुनिश्चित गरिएको छ । आर्यभञ्ज्याङ-चिदेपानी खण्ड कालोपत्र भइसकेको छ भने ताहु क्षेत्रमा पोल सार्ने तथा सडक विस्तार कार्य जारी रहेको छ । विरकोट, सेफत, जब्कागादी र बेलडाँडा–रामपुर खण्डमा पनि निर्माणको काम भइरहेको उहाँको भनाइ छ । प्रदेश गौरवको योजनामा संघीय बजेटको निरन्तर सुनिश्चितता उल्लेखनीय उपलब्धि भए पनि आवश्यकता अनुसार पर्याप्त बजेट नभएकोले समन्वय र सहजीकरण गरिरहेको उम्मेदवार आचार्यले बताउनुभयो ।
यसैगरी बाँसटारी-सराइ–झडेवा–रहवास–दुम्कीवास, केलादी–पन्थे–सहलकोट–झिरुवास–झ्यालवास, रजघरा–पन्थे–झिरवास, अर्सेदी–झोकेदी–ताहु–देविनगर–झडेवा तथा गेझा–बिरकोट–ज्यामिरे–दुम्कीवास सडक लगायतका पालिका पहुँच मार्ग र खानी पहुँच मार्गमा निर्माण कार्य निरन्तर अघि बढिरहेको छ । विकट पहाडी भूगोल, वर्षायाममा सडक भासिने तथा पहिरोको चुनौती हुँदाहुँदै पनि विकासको गति नरोकिने बताएको दाबी उम्मेदवार आचार्यको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र आन्तरिक पर्यटन जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा पनि बजेट विनियोजन गराई योजना अघि बढाइएको छ । संसद र सरकारमा यी योजनाका लागि निरन्तर पहल, दबाब र ध्यानाकर्षण गरिँदै आएको जनाइएको छ ।
राजनीतिक अस्थिरता र पटक–पटक सरकार परिवर्तनका कारण अपेक्षित गतिमा काम सम्पन्न गर्न कठिनाइ भए पनि प्रतिबद्धता कमजोर नभएको आचार्यको भनाइ छ । पाँच वर्षका लागि निर्वाचित भए तापनि करिब ३१ महिनाको सक्रिय कार्यकाल मात्र उपयोग गर्न सकिएको र दुई आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयन हुन सकेको उल्लेख गर्नुभयो ।
छोटो समयले संकल्प रोक्न नसकेको भन्दै अबको लक्ष्य “पाल्पाको स्वर्ण कार्यकाल” रहेको आचार्यले बताउनुभएको छ । जनताको खबरदारीलाई विकासको खबरदारीका रूपमा सम्मान गर्दै अझ परिणाममुखी, पारदर्शी र प्रभावकारी कार्यशैलीका साथ पुनः जनतामाझ जाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
जनताको माया प्रेरणा, सुझाव मार्गदर्शन र विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आचार्यले पाल्पाको समृद्धिका लागि निरन्तर अघि बढिरहने अठोट व्यक्त गर्नुभएको छ । आचार्य आफू मतदताको घरदैलो कार्यक्रममै रहदाँ पितृशोकमा पर्नुभएको छ । आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार बुटवलमा निधन भएको हो ।