निराजन पौडेल
फागुन १७, पाल्पा ।
सोमप्रसाद पाण्डेय लाई धेरैले केवल राजनीतिक व्यक्तित्वका रूपमा मात्र होइन, विकासप्रतिको अटुट विश्वासका रूपमा सम्झिन्छन् । गाउँघरका चौतारीदेखि बजारका चियापसलसम्म जब विकास, पूर्वाधार र सम्भावनाको चर्चा हुन्छ, त्यहाँ उनको योगदान अनिवार्य रूपमा जोडिन्छ । पाल्पाको समग्र उन्नतिलाई व्यक्तिगत दायित्व ठानी निरन्तर सक्रिय रहने शैलीले उनलाई विकासप्रेमी नेताका रूपमा एउटा छुट्टै पहिचान दिलाएको छ ।
जिल्लाका दुर्गम गाउँसम्म सडक विस्तार हुनु केवल भौतिक पूर्वाधार निर्माण मात्र नभई स्थानीय जीवनशैलीमा आएको सकारात्मक परिवर्तनको संकेत पनि हो । खानेपानी योजनाको विस्तारले वर्षौंदेखि समस्या झेलिरहेका बस्तीमा राहत दिएको छ । विशेषगरी तानसेनका लागि ल्याइएको कालिगण्डकि लिफ्टिङ खानेपानी आयोजना यहाँका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि मानिन्छ ।
उनको पहलमा अघि बढाइएका आयोजनामध्ये सिद्धबाबा सुरुङग मार्ग विशेष महत्वको परियोजना हो । यस आयोजनाबाट यातायात जोखिम न्यूनीकरण भई आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । त्यस्तै ग्रामीण सडक स्तरोन्नति, पाल्पा दरबारको को पुनर्निर्माण, भैरवस्थान मन्दिर को पुनर्निर्माण तथा रानीमहल संरक्षण र सडक विस्तारजस्ता कार्यहरूले जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको जगेर्नामा उल्लेखनीय टेवा पु¥याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेय यतिबेला चुनावी घरदैलोमा सक्रिय छन् । विगतका विकास कार्यको निरन्तरता सँगै आगामी योजनाको स्पष्ट योजना तथा खाका प्रस्तुत गर्दै उनी मतदातासँग भेटघाटमा जुटिरहेका छन् ।
यस निर्वाचनलाई उपलब्धिको मूल्यांकनसँगै आगामी दिनमा कस्तो नेतृत्व रोज्ने भन्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विकासको गति र प्रभावकारिता कस्तो हुने भन्ने निर्णय अब मतदाताको हातमा छ ।