फागुन १६,
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेदवार डा. माधव थापाले लामो समयदेखि जीर्ण अवस्थामा रहेका बगनासकाली भित्रका सडकहरुको स्तरोन्नतीमा आफुले बिशेष ध्यान दिने बताउनुभएको छ । शुक्रवार बगनासकाली गाउँपालिकाभित्रका बिभिन्न वडाहरुमा भेला तथा घरदैलो अभियानका क्रममा डा. थापाले तानसेन, चिलाङ्दी, राम्दी सडक सहित चिलाङ्दी, राम्दी, चिलाङ्दी कोलडाँडा सडकहरुको स्तरोन्नतीमा बिशेष दिने बताउनुभयो ।
गोर्खेकोट चिलाङ्दी, चिलाङ्दी चापपानी राम्दी सडक बर्षौदेखि जीर्ण अवस्थामा छ । यो बाटो अहिलेसम्म नेताहरुको भाषणमा मात्रै सीमित बनेको छ । ग्रामीण सडकहरु बझादी, तल्लो कोलडाँडा, माथिल्लो कोलडाँडा लगायतका स्थानमा बर्षात्को समयमा गाडी चल्न सक्दैनन् । त्यसैले पनि स्थानीयले उम्मेदवार थापासँग बाटोको स्तरोन्नतीको माग गरेका हुन् ।
उम्मेदवार डा. थापाले भन्नुभयो–“तपाईको अमुल्य मतको सदैब सम्मान गर्दै अगाडि बढ्नेछु । निर्वाचनका बेला गरिएको सबै प्रतिबद्धता पूरा गर्ने गरी लागिपर्नेछुु ढुक्क हुनुहोस् ।” उम्मेदवार थापाले सडक, शिक्षा, स्वास्थ्य, सिंचाई, रोजगारीका बिषयमा आफ्नो बिशेष ध्यानाकर्षण भएको बताउनुभयो । डा. थापा सहित राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका उपसभापति सुमन गैरे, राष्ट्रिय स्वतन्त्र पार्टी बगनासकालीका संयोजक रविन्द्र घिमिरे सहित जिल्ला स्थित नेताहरु घरदैलो तथा भेटघाटमा रहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सुमन गैरेले यसपटक रास्वपाप्रति आम मतदाताहरुको आकर्षण ब्यापक रुपमा बढेको बताउनुभयो । उहाँले मतदाताहरु फागुन २१ मा घण्टीमा मत दिन आतुर रहेको बताउनुभयो । रास्वपा बगनासकालीका संयोजक रविन्द्र घिमिरेले यसपटक पाल्पामा रास्वपाको जित सुनिश्चित भएको बताउनुभयो ।
बगनासडाँडाबाट सुरू भएको अभियान बझादी, फुक्टुङ, सिखरे हुँदै गेझा, दरुङ्गा दर्लम पुगेको थियो । त्यस्तै गरनडाँडा, सुनादी, माथिल्लो कोलडाँडा, तल्लो कोलडाँडा हुँदै टेक्रे गुँगा र मेउछाप लगायतका टोल बस्तीमा उम्मेदवार सहितको टोली पुगेको हो ।
रास्वपाका उम्मेदवार सहित नेताहरुको टोलीसँग आम मतदाताहरुले यसअघि पनि धेरै नेताहरुलाई बिजयी गराएर पठाएपनि खास काम हुन नसकेको भन्दै यसपटक आफुहरु मत फर्ने तयारीमा रहेको र चुनावमा गरिएका प्रतिबद्धता चुनावपछि कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
शनिवार बगनासकाली गाउँपालिका अन्तरगतका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप लगायतका वडाहरुमा भेटघाट तथा घरदैलो अभियान हुने बताइएको छ ।
यज्ञमुर्ती तिमील्सिना