निराजन पौडेल
फागुन १६, पाल्पा ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पाल्पा जिल्लामा चुनावी माहोल तातिँदै गएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले जिल्लामा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । पार्टीका जिल्ला सभापति विष्णु भण्डारीले चुनावी वातावरण र मतदाताबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले पार्टीको पक्षमा स्पष्ट माहोल बनेको बताउनुभयो ।
भण्डारीका अनुसार पछिल्लो समय पाल्पाका विभिन्न गाउँ तथा बस्तीमा पुगेको रास्वापाले व्यापक जनसमर्थन पाएको छ । हामीले पाएको साथ र समर्थन अत्यन्त उत्साहजनक छ । परिवर्तनको चाहना राख्ने मतदाताको पहिलो रोजाइ (रास्वापा) बनेको छ । उहाँले भन्नुभयो ।
रास्वापाले चुनावी अभियानलाई तिव्ररुपमा अगाडि बढाएको छ । उम्मेदवार र कार्यकर्ताहरू गाउँ-गाउँमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् ।
हिजो बगनासकाली गाउँपालिका अन्तर्गत बगनास, गोपाल्दी, बजादी, चापपानी, गुङ्गा हुँदै कोलडाँडासम्म घरदैलो कार्यक्रम गरिएको पार्टीले जनाएको छ । सो क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूका गुनासा, समस्या र सुझाव संकलन गरिएको थियो । आज भने रिब्दीकोट गाउँपालिका मा घरदैलो कार्यक्रम सञ्चालन हुने पार्टी कार्यालयले जानकारी दिएको छ ।
उम्मेदवार डा. माधव थापाले जनताका समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाएको बताउनुभएको छ । घरदैलो अभियानका क्रममा उहाँले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषिमा आधुनिकीकरण तथा सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्नुभयो ।
जनताको विश्वास जित्नु नै हाम्रो पहिलो लक्ष्य हो । उहाँले भन्नुभयो पाल्पामा युवाको विदेश पलायन ठूलो समस्या बनेको छ । त्यसलाई रोक्न स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि सम्भावनालाई प्रविधिसँग जोडेर आम्दानी वृद्धि गर्ने, स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने र विद्यालय शिक्षालाई व्यवहारिक बनाउने योजना रहेको डा. थापाले बताउनु भयो ।
घरदैलो अभियानका क्रममा अधिकांस नागरिकले पुराना दलहरूप्रति निराशा व्यक्त गरेको र नयाँ विकल्पप्रति आशावादी देखिएको पार्टीको दाबी छ ।