माघ २५,
आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको हो ।
गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि सोही अभियानअन्तर्गत खोप लगाउन लागिएको हो ।
पाल्पामा पनि दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । पाल्पामा कक्षा ६ मा अध्ययनरत एक हजार ९ सय ९५ जना, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्यालय बाहिरका १० वर्ष उमेरका १२ जना र विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्ष उमेरका छुट एक जना किशोरी गरी दुई हजार ४३ जना किशोरीलाई खोप दिइने छ ।