बैशाख ३ ,
विगत केही दशकदेखि अव्यवस्थित विकास र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण कालीगण्डकी नदी गम्भीर संकटमा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ले नयाँ वर्ष २०८३ का अवसरमा पर्वत क्षेत्रका विभिन्न धर्मघाटमा ब्यानर प्रदर्शन गरेको छ ।
अभियानका संयोजकका अनुसार ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको अन्धाधुन्ध उत्खननले नदीको दिगोपन घट्दै गएको छ । अवैध क्रसर उद्योग, वातावरणीय प्रभाव मूल्याङ्कनबिनाको उत्खनन, फोहोर व्यवस्थापनको अभाव र नदी किनार अतिक्रमणले नदी र आसपासका बस्ती तथा जैविक विविधता जोखिममा परेको उनले बताए ।
नदी क्षेत्रमा सयभन्दा बढी क्रसर उद्योग सञ्चालनमा रहेको र धेरै दर्ताबिनै चलिरहेको आरोप लगाइएको छ। यसले नदी गहिरो हुँदै बाढी, कटान तथा धार्मिक महत्त्व बोकेको शालिग्राम शिलासमेत संकटमा परेको बताइएको छ ।
अभियानले कालीगण्डकीमाथि भइरहेको दोहन रोक्न, अवैध गतिविधि नियन्त्रण गर्न र जनचेतना अभिवृद्धि गर्न ‘कालीगण्डकी मार्च’ सहित थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।