असार ३,
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।
अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको र सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको ज्ञवालीले स्पस्ट पार्नुभयो ।
सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ ।