असार ३,
पाल्पा जिल्लामा कुपोषण हुने बालबालिकाको सङ्ख्या वर्षेनी बढिरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा कडा कुपोषित २८ जना बालबालिका थिए भने २०८१/८२ मा बढेर ४१ पुगेका छन्।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार १० देखि १८ वर्ष उमेर समूहमा कुपोषणको अवस्था गम्भीर बन्दै गएको छ। मध्यम खालको कुपोषण पनि अघिल्लो वर्षको १२९ बाट यो वर्ष १८४ पुगेको छ।
जिल्लाभरका ८,७२९ बालबालिकामा गरिएको परीक्षणमा सहरी क्षेत्रका बालबालिकामा, विशेषगरी बालिकामा, कुपोषणको अवस्था बढी देखिएको छ।
कडा कुपोषण रामपुर र तानसेन नगरपालिकामा बढी पाइएको छ भने मध्यम कुपोषण बगनासकाली, रामपुर र तानसेनमा बढी देखिएको छ। अधिकृत विश्वनाथ न्यौपानेका अनुसार सहरी क्षेत्रमा पत्रु खानाको प्रयोग बढ्दै गएकाले कुपोषण पनि बढिरहेको हो।