बैशाख २५,
तानसेन नगरपालिकाले प्रमुख राजश्व स्रोत पार्किङ र प्रवेश शुल्क बनाएको छ । रित्तो श्रीनगर र रित्तो रानीमहलबाट करोड बढी राजश्व संकलन गर्ने नगरपालिकाले श्रीनगर र रानीमहलको संरक्षण र प्रवर्धनमा खासै ध्यान दिन सकेको छैन । यहाँसम्म कि नगरपालिकाले बाटो छेउमा खडा गरिएका सवारीबाट समेत शुल्क उठाउँछ ।
पाइलै पिच्छे उठाइने पार्किङ र प्रवेश शुल्कले स्थानीय तथा पर्यटक हैरान भएका छन् । व्यवस्थापनमा कुनै ध्यान नदिने पार्किङ र प्रवेश शुल्क उठाउने स्थानीय सरकारको गतिबिधि प्रति प्रश्न उठ्न थालेको छ । तानसेन बसपार्क आइपुगेको गाडीको इन्जिन बन्द हुन नपाउदै पार्किङ उठाउन नगरप्रहरी पुग्छन् । बसापर्कमा बसको रु. ६०, मिबिसको ५०, जीप कार भ्यानको ३० र मोटरसाइकलको १० रुपैयाँ उठाइन्छ । टाढाबाट आएका पर्यटकलाई सहजीकरण गर्ने तर्फ नगरपालिकाको कुनै ध्यान छैन । ध्यान छ त रसिद कटाउने शुल्क उठाउनेमा मात्र ।
बिरेन्द्र फुलबारी परिसर, जिल्ला प्रशासन कार्यालय अगाडि (दरबार परिसर वा तेर्सो सडक), नारायणस्थान, श्रीनगर, रानीमहल, भैरव मन्दिर भैरवस्थानमा सर्वसाधारण र पर्यटकलाई हैरान बनाउने गरी पार्किङ शुल्क उठाउने गरिएको गुनासो सर्वसाधारणको छ । भैरवस्थान मन्दिर गएका दशनार्थीहरुले समेत भैरवस्थानमा भएको पार्किङ शुल्क महङ्गो भएको गुनासो गरेका छन् । प्रवेश शुल्क तिरेर पर्यटक श्रीनगर जान्छन् । तानसेन श्रीनगरमा पार्किङ मात्रै हैन प्रवेश शुल्क तिरेर रित्तो जंगल बाहेक केही नदेखेपछि निराश हुदै पर्यटक फर्कन्छन् ।
तानसेन नगरपालिकाका राजश्व शाखा प्रमुख मधुसधन घर्तीले सवारी साधनको संख्या बढ्दै जादा व्यवस्थापनका लागि पनि ठाउँ ठाउँमा पार्किङस्थल बनाउनु परेको बताउनुभयो । उहाँले पार्किङ शुल्कबारे नगरपालिकाले कानुन बनाएको र समय समयमा शुल्क बृद्धि गर्ने निर्णय नगरपालिकाले गर्ने उहाले बताउनुभयो । गाडीहरुको संख्या बढ्दै जानु, पार्किङका लागि उपयुक्त स्थान नहुदा भएका र उपयोग गर्ने ठाउहरुलाई उपयोग गरी पार्किङस्थल बनाउनुपरेको जनाउनु भयो ।