बाहाखोक–अर्पिडाडा खानेपानी समूहको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कार्तिक १, पाल्पा ।
माथागढी गाउँपालिका–१ चिदीपानीस्थित बाहाखोक–अर्पिडाडा दोहोरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

समूहका अध्यक्ष खेमान सिंह थापा (सारु) को अध्यक्षतामा सम्पन्न सो सभामा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत चालु आर्थिक वर्ष २०८२ र ०८३ भित्र चिदीपानी क्षेत्रका करिब ९०प्रतिशत घरधुरीमा सुरक्षित खानेपानी पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

उहाँले खानेपानीसँगै शिक्षा, स्वास्थ्य, मोटरबाटो, सिंचाइ, कृषि र पशुपालनलाई समेत उच्च प्राथमिकतामा राखी विकासका कार्यहरू अघि बढाइरहेको जानकारी दिनुभयो। “हामी जनताको मुहारमा खुशी ल्याउन चुनीएका जनप्रतिनिधि हौं। राम्रो गर्ने प्रयास सधैं रहन्छ, तर गलत कहिल्यै गर्दैनौं,” उहाँको भनाइ थियो।

सभामा अध्यक्ष थापाले विगतमा खोलाबाट पानी बोक्ने दयनीय अवस्था अब सुधार हुँदै लिफ्ट प्रणाली तथा परम्परागत स्रोत व्यवस्थापनको सहायताले खानेपानी सेवा विस्तार भइरहेको उल्लेख गर्नुभयो। उहाँले निर्माणाधीन आयोजना केही महिनाभित्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

सभामा कोषाध्यक्ष जमुना थापाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो भने अध्यक्ष थापाले वार्षिक प्रतिवेदन र आगामी योजनाहरू साझा गर्नुभयो।

कार्यक्रममा वडा सदस्य लिला कुमारी बिक, विद्यालयका प्रधानाध्यापक विजयदीप पन्थी, सहकारी अध्यक्ष भवनसिंह गाहा, पत्रकार जगन्नाथ काफ्ले, सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष निर्मला राना, समाजसेवी टिकाराम बस्याल, उजेला बिक लगायतको उपस्थिति रहेको थियो।

करिब १५० जना उपभोक्ताको उपस्थितिमा सम्पन्न भेलाको स्वागत मुरारी बस्यालले गर्नुभयो भने कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर बिकले गर्नुभएको थियो।

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज