कार्तिक ३, पाल्पा
माथागढी गाउँपालिका–१ चिदीपानीस्थित फेदी युवा क्लबको आयोजनामा एकदिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता बिष्णु बहादुर सारुले गर्नुभयो भने प्रमुख अतिथि रूपमा माथागढी गाउँपालिका–१ का वडा अध्यक्ष राजकुमार पन्थी उपस्थित रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले खेलकुद क्षेत्रले युवामा अनुशासन, एकता र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै शारीरिक तन्दुरुस्तीका साथै सामाजिक समरसता मजबुत बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले खेलकुद, भौतिक संरचना र मानव संसाधनको सन्तुलित विकासका लागि वडा कार्यालय सदैव जनताको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
प्रतियोगितामा रमैडाँडा युवा क्लब प्रथम, आयोजक फेदी युवा क्लब द्वितीय तथा खहरे युवा क्लब ( माथागढी–२ र ३) तृतीय स्थानमा रहेका छन्। विजेता टोलीहरूलाई क्रमशः प्रथमलाई रु. १२,०६०, द्वितीयलाई रु. ९,०६० र तृतीयलाई रु. ६,०६० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। विजेताहरूलाई प्रमुख अतिथि पन्थीले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सोम ब. आले, बलबहादुर सारु, ॐ बहादुर सारु, ऋषिराम पन्थी, हेमान दर्लामी लगायतको विशेष आतिथ्यता तथा उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन मोहन बहादुर जिसीले गर्नुभएको थियो।