भदौ ८,
पाल्पामा यस वर्ष हालसम्म २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। सबैभन्दा धेरै साउन र भदौ महिनामा बिरामी बढेका हुन्। संक्रमितमध्ये १८५ जना पाल्पा भित्रका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आएका हुन्।
लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेङ्गुका बिरामी देखिएका छन्। अन्य जिल्लामध्ये रूपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३ र बाँकेमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
एडिस एजिप्टाइ लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षायाममा बढी फैलिने गरेको छ। ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भए पनि संक्रमणमा कमी आउन सकेको छैन। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन र सचेत रहन सुझाव दिएका छन्।
गत वर्ष पाल्पामा ४६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो।