तिजको दर खादा ध्यान पुर्याउ यस्ता कुरामा

भदौ ८,
हिन्दू महिलाको महत्त्वपूर्ण चाड तीजको रौनक छ ।  तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन् । आजभोली दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन् ।

दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्‍याउनुपर्छ ।

धेरै नखाने

नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञहरु सुझाव दिन्छन् ।

स्वच्छ खाने

मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

भारी नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञहरु बताउँछन् । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने खाद्य प्राविधिज्ञहरु बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञहरुको सुझाव छ । शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिने खालका खानेकुरा खाद्य प्राविधिज्ञहरु सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ ।

दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ ।

दर खाँदा ध्यान दिनुपर्ने कुराहरुः–

१. दरमा धेरै पीरो तथा गुलिया पेय पदार्थ खानु हुँदैन ।
२. अखाद्य रङ तथा केमिकल मिसाएका मिठाईले फुड प्वाइजन बनाउछ, त्यसैले स्वच्छ मिठाई छनौट गरेरमा मात्र खानुपर्छ ।
३. धेरै नुन हालेको तथा मसालेदार खाने कुरा नखानु उपयुक्त हुन्छ । त्यसले प्यास जगाउछ ।
४. होटल तथा पार्टी प्यालेसमा बनाएको रेडिमेड खानेकुरा खानु हुँदैन । घरमा बनाएर खानुपर्छ ।
५. दरमा दही, फलफूल, हरियो सलाद खानुपर्छ, यसले खाना पचाउन मद्धत गर्छ ।
६. चिल्लोयुक्त दर खानु हुँदैन, चिल्लो पर्दाथमा हुने कोलष्ट्रलले शरीरलाई हानि गर्छ ।
७. दरका नाममा नियमित भन्दा अधिक खानु हुँदैन, यसले अपच तथा ‘फुड पोइजन’ हुनसक्छ ।
८. खीर, अचार, मासु तथा दुधको मिश्रणले शरीरलाई नकारात्मक असर पार्न सक्छ ।
९. तीजको व्रत धार्मिकतासंग जोडेर हेरिने भएकाले व्रत बस्नेले माछामासु नखानु उत्तम हुन्छ ।
१०. दरमा मादक पदार्थको सेवन गर्नुहुँदैन यसले शारीरको चेतनाको स्तर घटाउँछ ।
११. तेलमा तारेको खानेकुरा धेरै खाँदा वाकवाकी लाग्ने तथा पेट दुख्न सक्छ ।
१२. शरीरले धान्न नसक्ने खानेकुरा खानु हुँदैन, यसले झाडापखाला लगाउन सक्छ ।

त्यसो भए दरमा के खाने ?

दरमा विशेष यही खानुपर्छ भन्ने छैन । शरीरले उर्जा दिने तथा स्फुर्त राख्ने खानेकुरा खाँदा हुन्छ । व्रत बस्ने महिलाले दर खादा स्वस्थ्यवद्र्धक तथा पोषणयुक्त खाना खानुपर्छ ।

दरमा सकेसम्म नियमित झै सादा खानेकुरा खानु उचित हुन्छ । खानामा हरियो सागसब्जी, फलफूल, सलाद, दूध, दही, मही खाएमा शरीर हल्का तथा स्फुर्त रहन्छ ।

दरमा ताजा खाद्य सामाग्रिको मात्र प्रयोग गर्नुपर्दछ । धेरै दिन अघिदेखि राखेको खानेकुरा नखानु उत्तम हुन्छ । साथै राम्रोसंग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । पोषणका लागि दरमा दूध, दही, मखन, घिउ जस्ता खानेकुरा खानु उत्तम मानिन्छ यसले शरीरलाई लामो समय शक्ति दिन्छ ।

कस्ता व्यक्तिले व्रत नबस्ने ?

१. नियमित औषधिको सेवन गर्नेले व्रत बस्नु हुँदैन ।
२. कमजोर शरीर भएका महिलाले पनि व्रत बस्नु हुँदैन ।
३. बिरामी भएको बेलामा पनि व्रत बस्नु उपयुक्त हुँदैन, बस्नै पर्ने भए पनि फलफुल तथा जुस सेवन गर्नु उपयुक्त हुन्छ ।
४. गर्भवति तथा कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हानिकारक हुन्छ ।
५. परीक्षार्थी, सानो उमेरको किशोरी तथा वृद्धाले पनि व्रत बस्नु हुँदैन ।
६. मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएकाले व्रत बस्नु हुँदैन ।

एजेन्सी

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज