असार ३,
धातानन्द शर्मा गैरे ।
तानसेन नगर प्रज्ञा प्रतिष्ठानले एक समारोहको आयोजना गरी वरिष्ठ समाजसेवी, तानसेनकी चर्चित ढाका उद्यमी पूर्णमाया महर्जनलाई दीर्घसेवा सम्मान तथा चर्चित उपन्यास ‘सावर्णि’का लेखक डा.श्रीधर खनाललाई उत्कृष्ट कृति पुरस्कारले सम्मान गरेको छ । दुवै व्यक्तित्त्वलाई माला, पदक, दोसल्ला, उपहार र नगद जनही रु ६८ हजार अर्पण गरी सम्मान गरिएको हो ।समारोहमा डा.शंकरप्रसाद गैरेले सम्मानित व्यक्तित्त्व पूर्णमाया महर्जनको व्यक्तित्त्व र योगदानको परिचय प्रस्तुत गर्दै २०१५ सालमा उहाँको परिवारले स्थापना गरेको ढाका उद्योगले पाल्पाको पहिचानलाई देशविदेश पु¥याउन सहयोग पुगेको, धेरैलाई रोजगारी प्रदान गरेको भन्दै उहाँको विशिष्ठ समाजसेवाबारे चर्चा गर्नुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा.टंकप्रसाद पंथले अर्का सम्मानित व्यक्तित्त्व डा.श्रीधर खनालको परिचय प्रस्तुत गर्ने क्रममा उहाँ चिकित्सक (बालरोग विशेषज्ञ) भएर पनि उत्कृष्ट कृति सिर्जना गरेर साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । सम्मान समारोहका प्रमुख अतिथि तानसेन नगरप्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठले सम्मानित व्यक्तित्त्वहरुले आफ्ना उत्तम कर्मले समाजमा ठूलो योगदान पुगेको छ भन्नुभयो । तानसेन नगर प्रज्ञा प्रतिष्ठानले छोटो समयमै धेरै राम्रा कामहरु गरेको, यसले भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, पर्यटन, लुकेर बसेका प्रतिभा र सम्पदाहरुको खोजी गरेर त्यसको उत्थानका लागि अघि बढेको र प्राज्ञहरुबाट यसमा धेरै सहयोग मिलेको विचार राख्नुभयो । उहाँले तानसेनलाई ढाका र करुवामय बनाएर यसको गरिमामय पहिचान बनाउन पूर्णमायाको ठूलो योगदान छ भन्नुभयो । आफू बालरोग विशेषज्ञ भएर पनि साहित्य सिर्जनाको क्षेत्रमा उत्कृष्ट कृति समाजलाई दिएर डा.श्रीधर खनालले ठूलो योगदान पु¥याउनुभएको उहाँले उल्लेख गर्नुभयो । नगर उपप्रमुख प्रतिक्षा सिँजालीले विशिष्ठ व्यक्तित्त्वहरुलाई सम्मान गर्नपाउँदा तानपाले गर्व महसुस गरेको छ । समाजसेवी तथा ढाका उद्यमी पूर्णमाया महर्जनको विचार र दृष्टिकोणप्रति आफू नतमस्तक भएको विचार राख्नुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले दुवै सम्मानित व्यक्तित्त्वहरुलाई सममान गरेर नगर प्रज्ञा प्रतिष्ठानले उत्तम काम गरेको भनाइ राख्दै सम्मानित दुवैलाई बधाई दिनुभयो ।
समारोहमा धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, सम्मानित व्यक्तित्त्व ‘सावर्णि’का लेखक श्रीधर खनाल र पूर्णमाया महर्जनले पनि आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रमका अध्यक्ष नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले अथक साधक, उद्योग, समाजसेवी पूर्णमाया महर्जनलाई दीर्घ सेवा प्रदान गर्ने पूर्व निर्णय अनुसार र लुम्बिनी प्रदेशमा साहित्यको विकास र प्रवद्र्धनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशभरबाट २०८१ मा प्रकाशित रचनाहरुबाट सावर्णि उत्कृष्ट रचनाको रुपमा छनोट समितिबाट छनोट भएकोले स्रष्टा श्रीधर खनाललाई सम्मान गरिएको हो । यसबाट स्रष्टाहरुलाई अरु उत्कृष्ट रचना सिर्जना गर्न प्रेरणा मिल्ने विश्वास् व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । समारोहमा प्रतिष्ठान परिवार, तानसेन नगरपालिकाका वडाप्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम प्राज्ञ सदस्य भावना खनालको स्वागत तथा संस्थाका सदस्य सचिव दुर्गा थापाको सञ्चालनमा चलेको थियो ।