जेठ ०४,
पोर्चुगलका कप्तान तथा अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचनामा रोनाल्डो अगाडि रहेका हुन् । रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर पुर्याएका छन् । यसपटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् । बेलायती बक्सर टाइसन फ्युरी तेस्रो र मेसी पाँचौँ स्थानमा झरेका छन् ।
४० वर्षको उमेर पनि रोनाल्डो मैदानभित्र र बाहिर सक्रिय छन् । रोनाल्डो पछिल्लो दुई वर्षदेखि साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उनको मुख्य कमाइको स्रोत नासरबाट प्राप्त गर्ने पारिश्रमिक र सम्झौता रकम हो । उनले सोसल मिडियाबाट राम्रै आम्दानी गरेका छन् । यसैकारण उनी लगातार तेस्रोपटक पनि सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।
सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डो अल नासरमा आबद्ध भएका थिए । उनले यस वर्ष मैदानभित्र २२५ मिलियन डलर तथा मैदानबाहिर ५० मिलियन अमेरिकी डलर कमाइ गरेका छन् । उनी ९०० खेल खेल्ने पहिलो खेलाडी बन्दै छन् ।
फोर्ब्सको शीर्ष १० सूचीमा फुटबलका रोनाल्डोसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी र फ्रान्सका अनुभवी खेलाडी करिम बेन्जेमा पनि रहेका छन ।
– एजेन्सी