बैशाख २६,
बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । पालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।
परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको गाउपालिका अध्यक्ष बताए । गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरेको हो ।
गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको साथै दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु साढे दुईका दरले अनुदानसमेत दिइएको छ । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रम मार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ ।
आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्या परेको महसुसपछि यस्ता कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । किसानहरु पहिलोपटक सहयोग पाउँदा खुशी भएका छन् ।