“गाउँमा सबैले उहाँलाई प्रेम सरको नामले चिन्छन् । लामो समयसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएकोले मस्याम क्षेत्रमा उहाँको छुट्टै पहिचान बनेको छ । सामान्य कृषक परिवारमा जन्मनुभएका प्रेमबहादुर राना २०८१ सालमा शिक्षण पेशाबाट अवकाश लिएपछि आफ्ना छोरीहरूलाई भेट्न अमेरिका जानुभएको थियो । केही समय अमेरिका बसाइपछि हालै स्वदेश फर्किनुभएका राना २०५१ सालदेखि नै शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो ।
२०६१ सालमा स्थायी शिक्षक बनेपछि उहाँले आफ्नो जिम्मेवारीलाई थप गम्भीरतापूर्वक निर्वाह गर्नुभयो । त्यसपछि २०६४ सालदेखि २०८१ सालसम्म लक्ष्मी आधारभूत विद्यालय, तिनाउँ–६ चिदिसमा प्रधानाध्यापकको रूपमा कार्यरत रहँदै विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान दिनुभयो । उहाँको नेतृत्वमा विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र व्यवस्थापन सुधारमा उल्लेखनीय प्रगति भएको स्थानीयहरू बताउँछन् । २०२० सालमा स्थापना भएको उक्त विद्यालयलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन उहाँले खेलेको भूमिका आज पनि समुदायले स्मरण गर्छ ।
शिक्षण पेशामा रहँदा उहाँ नेपाली कांग्रेस निकट शिक्षक संगठनमा आवद्ध हुनुहुन्थ्यो । शिक्षकहरूको पेशागत हकहित, सेवा सुविधा र शैक्षिक सुधारका मुद्दामा उहाँ निरन्तर सक्रिय रहनुभयो । साथै, कांग्रेसको विभिन्न राजनीतिक अभियानमा समेत उहाँले साथ र सहयोग गर्दै आउनुभएको थियो ।
अवकाशपछि पनि धेरै अवसर आउन सक्थे । ‘म पार्टीमा रहेर व्यक्तिगत रूपमा धेरै अवसर पाउन सक्थेँ । तर देश र समाजको हितलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्यो,’ उहाँ भन्नुहुन्छ । उहाँका अनुसार समयक्रमसँगै पुराना दलप्रति जनतामा विश्वास घट्दै गएको अनुभव उहाँले प्रत्यक्ष रूपमा महसुस गर्नुभयो । यही कारण उहाँले आफ्नो लामो राजनीतिक आस्था रहेको कांग्रेस परित्याग गरी फागुन महिनाको आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो ।
‘अब पुरानो शैलीको राजनीति चल्दैन । सत्ता परिवर्तन भइरहे पनि जनताको जीवनमा परिवर्तनको अनुभूति हुन सकेन,’ उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ राजनीतिक संस्कार, पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्ध देखिएको कारणले पनि आफू रास्वपाप्रति आकर्षित भएको हो ।
रानाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको भविष्य र युवापुस्ताको आशालाई प्राथमिकता दिएको बताउनुहुन्छ । ‘म अवसर खोज्ने राजनीतिमा होइन, परिवर्तनको यात्रामा सहभागी हुन चाहन्छु,’ उहाँको भनाइ छ । उहाँका अनुसार गाउँस्तरमै पुराना दलप्रति निराशा र नयाँ शक्तिप्रति आशा बढिरहेको छ ।
रानासँगै मस्याम क्षेत्रका धेरै अगुवाहरू पनि रास्वपा प्रवेशको तयारीमा रहेको बताइन्छ । कतिपयले औपचारिक रूपमा पार्टी प्रवेश नगरे पनि आगामी निर्वाचनमा घण्टी चिह्नमै मत दिने प्रतिबद्धता जनाएका छन् । ‘जनताले आशा गरेको युवा नेतृत्वको उदय हुनुपर्छ भन्ने चाहना छ । बालेन्द्र शाह जस्ता युवाले देशको नेतृत्व गर्नुपर्छ भन्ने भावना गाउँगाउँमा बढेको छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार रास्वपाको अभियान अहिले टोलटोल र घरघरमा पुगिरहेको छ । ‘गाउँमा पहिले जस्तो राजनीतिक उत्साह छैन । तर नयाँ विकल्पप्रति उत्सुकता र विश्वास बढिरहेको छ । यसपटक धेरैले घण्टीमै मत दिने बताएका छन्,’ प्रेमबहादुरले दाबी गर्नुभयो ।
‘देशलाई बदल्न अब नयाँ सोच, नयाँ शैली र इमान्दार नेतृत्व आवश्यक छ । म त्यसै अभियानमा लागेको हुँ,’ उहाँले थप्नुभयो ।”