स्वास्थ्यकर्मी डा. थापा अब राजनीतिक यात्रामा

निराजन पौडेल
फागुन १०, पाल्पा ।
पश्चिम पाल्पाको पहाडी भेगबाट सुरु भएको एउटा साधारण यात्रा आज हजारौँ मानिसको जीवनसँग जोडिएको नाम हो , डा माधव थापा । करिब दुई दशकदेखि निरन्तर होमियोप्याथिक चिकित्सकका रूपमा सेवा दिँदै आएका थापा केवल रोग निको पार्ने चिकित्सक मात्र होइनन् ,  हजारौँ बिरामीका लागि आशा , भरोसा र आत्मविश्वासका एक प्रतीक बनेका छन् । सीमित स्रोत , न्यून सुविधा र थुप्रै चुनौतीका बीच सुरु भएको उनको यात्राले आज समाजमा छुट्टै पहिचान स्थापित गरेको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न ७ बतासे मा जन्मिएका थापाले प्राथमिक शिक्षा आफ्नै गाउँबाट पूरा गरे । सानैदेखि समाजप्रति संवेदनशील स्वभाव भएका उनले स्वास्थ्य क्षेत्र रोज्दै होमियोप्याथिक चिकित्सा अध्ययन गरे । त्यसपछि उनले ॐ कालिका होमियोप्याथिक अस्पताल प्रालि स्थापना गरी सेवा सुरु गरे । सुरुवाती दिनहरूमा विभिन्न समस्या र आर्थिक चुनौतीहरू आए पनि धैर्य ,  लगनशीलता र आत्मविश्वासका साथ काम अघि बढाए । समयसँगै उनको उपचार पद्धति र सेवाभावका कारण बिरामीहरूको विश्वास र माया बढ्दै गयो ।

थापाको उपचार शैली केवल औषधि सिफारिसमा सीमित छैन । बिरामीको समस्या ध्यानपूर्वक सुन्ने , व्यक्तिगत अवस्था बुझ्ने र रोगको जरोसम्म पुगेर सामाधान खोज्ने उनको अभ्यासले उनलाई फरक बनाएको छ । नियमित फलोअप र आत्मीय व्यवहारले बिरामीहरूमा विश्वासको सम्बन्ध निर्माण गरेको छ ।

करिब दुई दशकको निरन्तर सेवामा उनले हजारौँ बिरामीलाई स्वास्थ्य लाभ दिलाएका छन् । धेरैका लागि उनी चिकित्सक मात्र होइनन् ,  संकटका बेला सम्झिने अभिभावकजस्तै बनेका छन् ।

आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका बिरामीहरूलाई विशेष छुट वा निःशुल्क सेवा प्रदान गर्नु उनको विशेष मानवीय पक्ष हो । “स्वास्थ्य सेवा पैसाको आधारमा होइन, आवश्यकताको आधारमा उपलब्ध हुनुपर्छ” भन्ने विश्वासलाई उनले व्यवहारमै उतारेका छन् । धेरै बिरामीहरूले आर्थिक बोझबिना उपचार पाउने अवसर पाएका छन् । जसले उनलाई सामाजिक रूपमा झनै नजिक बनाएको छ ।

उनी चिकित्सा सेवासँगै सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन् । स्वास्थ्य सचेतना कार्यक्रम , निःशुल्क स्वास्थ्य शिविर तथा समुदायस्तरीय जनचेतनामूलक अभियानहरूमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । लामो समयदेखि स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशील थापा अहिले नयाँ यात्रातर्फ उन्मुख भएका छन् । उनी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाल्पा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार हुन् ।

स्वास्थ्य क्षेत्रबाट सुरु भएको उनको सेवा अब नीति निर्माण तहसम्म पुगेर व्यापक सामाजिक रूपान्तरण गर्ने लक्ष्यतर्फ उन्मुख भएको देखिन्छ । स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताका साथ उनले राजनीतिक यात्रा तय गरेका हुन् ।

समाजमा सेवा , समर्पण र सामाजिक उत्तरदायित्व मार्फत पहिचान बनाएका थापाको राजनीतिक यात्राले कस्तो परिणाम ल्याउने हो भन्ने चासो अहिले पाल्पा क्षेत्र नं. २ मा बढ्दो छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज