निराजन पौडेल
माघ २९, गुल्मी ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र बनाएका छन् ।
यस क्षेत्रमा १० दल र ११ स्वतन्त्र गरी कुल २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा (एमाले) बाट प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल र नेकपाबाट सुदर्शन बराल मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच विगतमा कडा प्रतिस्पर्धा हुँदै आएको छ भने यसपटक नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ । कुल १ लाख २२ हजार १८६ मतदाता रहेको यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र तोकिएका छन् ।
देशका ठूला दलका उच्च प्रोफाइल नेताबीच हुने यस निर्वाचनलाई केन्द्रदेखि विशेष चासोका साथ हेरिएको छ ।यो चुनाव राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकालका लागि अवसर बन्न सक्ने देखिन्छ भने पुराना नेताहरूका लागि आफ्नो राजनीतिक विरासत जोगाउने महत्त्वपूर्ण परीक्षा बन्नेछ ।