माघ २७,
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू मतदाता भेट्न घरदैलोमा पुगेका छन् । तर विकासका योजना भन्दा पनि एक-अर्कामाथि दोष थोपर्ने क्रम तीव्र बनेको छ ।
देशको वर्तमान दुर्दशाका लागि मुख्य जिम्मेवार राजनीतिक दलहरू नै भएको आम बुझाइ छ । पटक-पटक सत्ता सम्हालेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले व्यवस्था परिवर्तन गरे पनि नागरिकको जीवनस्तर परिवर्तन गर्न सकेनन् । अपारदर्शी काम, नातावाद-कृपावाद र राज्य संयन्त्रको दुरुपयोगले समस्या झन् गहिरिएको देखिन्छ ।
अब देश सुधार्ने जिम्मेवारी पनि दलकै काँधमा छ । त्यसका लागि दलहरूले सत्ता र स्वार्थभन्दा माथि उठेर पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिनु अपरिहार्य छ । राजनीतिक दल आफैं सुध्रिए मात्र नागरिकको अवस्था बदलिन सक्छ ।