असोज ६,
आज आश्विन शुक्ल प्रतिपदादेखि हिन्दूहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। आजको दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी दुर्गा पूजाको आरम्भसँगै घटस्थापना गरिँदैछ।
नित्यकर्म सकेर चोखो स्थलबाट ल्याइएको माटो वा बालुवामा गाईको गोबरले लिपपोत गरिएको स्थानमा जमरा रोपिन्छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यव (जौ) रोप्ने यो परम्परा विजयादशमीसम्म चल्नेछ। दसैँको मुख्य दिन टीका लगाउँदा समृद्धिको प्रतीक पहेँलो जमरा समेत ग्रहण गरिन्छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। तर, कुल परम्पराअनुसार कतिपयले अन्य अन्न पनि रोप्ने चलन रहेको बताइन्छ। जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ।
१५ दिनसम्म मनाइने दसैँको आज पहिलो दिन घटस्थापनासँगै धार्मिक विधि अनुसार पर्व प्रारम्भ भएको हो।