रिब्दीकोटको नीति तथा कार्यक्रम सार्वजनिक

असार ७
रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बैठकमा चालु आर्थिक वर्षकोको प्रगति विवरण तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गरेका हुन् । कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेशी विकास, सुशासन, रोजगार सिर्जना, कृषि र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । कार्यक्रममार्फत संघीय शासन प्रणालीअनुसार विकासको गतिलाई तीव्र बनाउन समन्वयात्मक योजनाहरू ल्याइएको अध्यक्ष कार्कीले बताए।

“म बनाउँछु मेरो रिब्दीकोट“ भन्ने मूल नारालाई आत्मसात गर्दै पालिकाले स्थानीय उत्पादनमा आत्मनिर्भरता, हरित विद्यालय, निःशुल्क टिफिन, बुक फ्रि फ्राइडे, स्वास्थ्य बीमा, खुल्ला व्यायामशाला, स्मार्ट सेवा प्रणाली, डिजिटाइजेशन, तथा महिला र जेष्ठ नागरिकको सशक्तिकरणमा विशेष ध्यान दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषिमा पकेट क्षेत्र घोषणा गरी व्यवसायिक उत्पादन र बजार सञ्जाल विस्तार गरिने, जैविक मलको प्रयोगलाई प्रोत्सान गर्ने, पशुपालनमा कृत्रिम गर्भाधान, रोग नियन्त्रण र नश्ल सुधार कार्यक्रम सञ्चालित गर्ने, शिक्षामा उत्कृष्ट विद्यालय प्रोत्साहन, स्थानीय पाठ्यक्रम, छात्रवृत्ति र शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने, लैंगिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने,पर्यटन प्रवद्र्धनमा ऐतिहासिक स्थलहरू जस्तै जलेश्वरधाम, छत्रदेवालय, सतनचुली, कासिकागढी, परुठा डाँडा संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धन लगायतका काम गर्ने, पूर्वाधारमा नयाँ सडक स्तरोन्नति, हरियाली प्रवद्र्धन, तथा भवनमा बालमैत्री र अपांगमैत्री संरचना अनिवार्य गरिने, गाउँपालिकाले युवालाई स्वरोजगारमुखी बनाउँदै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलतामा जोड्ने योजना अघि सार्ने जस्ता विषय समावेस गरिएको छ ।

सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओमप्रसाद पोखरेल, सोमकुमार कार्की र प्रकाश रायमाझीले आफ्नो धारणा राखेका थिए । सबै वर्ग, क्षेत्र र समुदायको सहभागितामा आधारित विकासमार्फत रिब्दीकोटलाई समृद्ध बनाउने योजना सहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । आगामी ९ गते सोमबार दोस्रो बैठकमा बजेट प्रस्तुत गर्नेगरी पहिलो बैठक स्थगित भएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले जानकारी दिए।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज