जेठ १२,
रुसले युक्रेनमा हालसम्मकै ठूलो हवाई आक्रमण गरेको छ, जसमा झन्डै ४०० वटा मिसाइल र ड्रोन प्रहार गरिएको बीबीसीले जनाएको छ। आक्रमणमा परी कम्तीमा १२ जना नागरिकको ज्यान गएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमी मुलुकहरूको मौनताले रुसी राष्ट्रपति पुटिनलाई यस्ता आक्रमण गर्न हौसला दिएको बताएका छन्। उनले रुसमाथि कडा दबाब नदिएसम्म आक्रमण नरोकिने चेतावनी दिएका छन्।
युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले पनि रुसको आक्रमणबाट युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्य स्पष्ट भएको बताउँदै अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेकी छन्।
यसैबीच, पछिल्ला तीन दिनमा दुबै पक्षले ३०० भन्दा बढी सैनिकहरू साटासाट गरेका छन्। युक्रेनले रुसबाट फर्किएका धेरै सैनिकहरूलाई यातना दिइएको र खानाबाट बञ्चित गरिएको आरोप लगाएको छ।
एजेन्सी