जेठ ०४,
पाल्पाको बहादुरपुरको माथिल्लो बेतेनीमा पहिलो पटक जीप पुगेको छ । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका स्थानीयबासीहरुमा खुशीयाली छाएको छ । बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१र०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् ।
मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९/०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०/०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो ।
यो बेतेनी गाउँमा १५ घर परिवारको बसोवास रहेको छ । कतिपय अवस्थामा बिरामीलाई अस्पताल ल्याउन लैजान डोको र स्टेचरको भर पर्नुपर्ने अवस्था थियो । गाउँमा युवाशक्ति नहुदा स्टेचरमा ल्याउन लैजान पनि समस्या थियो । अव धेरै सजिलो भने उहाँले भन्नुभयो । गाउमा बाटो पुगेपछि स्थानीय किसानले उत्पादन गरेको कृषि उपजहरू बिक्रीका लागि लैजान पनि सहज भएको उहाँको भनाई छ ।
माथागढी गाउँपालिकाले विकास योजनाका कामलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्दै अगाडि बढाएको गाउँपालिकाका प्रवक्ता एवम् भौतिक पुर्वाधार समितिका संयोजक शंकर दर्लामीले बताउनुभयो । अव यहाँ मोटर आउने अवस्था भएपछि स्थानीय नागरिकलाई दुःख सुखका बेला धेरै सहज हुने दर्लामीले बताउँदै माथागढीको कतिपय भुगोल अप्ठ्यारो र ढुंगे पहाड फोरेर बाटो लैजानुपर्ने अवस्था रहेकोमा बेतेनी गाउँमा पनि पहाड फोरेर बाटो ल्याइएको हुनाले वर्षौदेखि यहाँका नागरिकको गाउबाट गाडी चढ्ने सपना पूरा भएको प्रवक्ता दर्लामीले भन्नुभयो ।