डिजिटल संसारले दिएको मानसिक विचलनः नोमोफोबिया

बैशाख २३,
खान, बस्न, लगाउन जस्तै अपरिहार्य बनिसक्यो, मोबाइल फोन । बरु, साथी नभए पनि हुन्छ । तर, मोबाइलबिना बाँच्न सक्दैनन्, अहिलेका पुस्ता ।

मोबाइल अहिले जीवनको अभिन्न अंग बनिसकेको छ । सञ्चार, मनोरञ्जन र सूचनाको पहुँचलाई सहज बनाउने यी उपकरणले हाम्रो दैनिकीमा गहिरो प्रभाव पारेका छन् ।

तर, यही सहजताले ल्याएको एउटा नयाँ चुनौती हो–नोमोफोबिया ।

केही दिन अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ले यही नोमोफोबिया विषयलाई बाल मनोस्वास्थ्यको सन्दर्भमा उठाएर समाजमा गम्भीर प्रश्न खडा गरेको छ ।

के हो त नोमोफोबिया ?

मोबाइल नहुँदा लाग्ने डर (नो मोबाइल फोन फोबिया) लाई विज्ञले दिएको छोट्करी नाम हो, नोमोफोबिया । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो ।

यो समस्या तब उत्पन्न हुन्छ । जब मोबाइल फोनबाट टाढा हुँदा मनमा एक किसिमको भय उत्पन्न हुन्छ । इन्टरनेट कनेक्शन नहुँदा, वा मोबाइलको ब्याट्री कम हुँदा उत्पन्न हुने असामान्य डर वा चिन्ता हुन्छ ।

अझ सरल भाषामा भन्नुपर्दा, कतिपय व्यक्तिहरूलाई लामो समयसम्म मोबाइल फोनबिना रहन मन नपर्न सक्छ, तर कतिपयलाई मोबाइलको सम्पर्क केही क्षण गुमाउँदा डर वा चिन्ता हुन्छ । यही अवस्थालाई नोमोफोबिया भनिन्छ ।

मोबाइल फोनको प्रयोग केवल वयस्कमा मात्र सीमित छैन । साना बालबालिकाहरू पनि मोबाइलमा यति अभ्यस्त भएका छन् कि उनीहरूले मोबाइलबिना खाना खान, सुत्न वा स्कूल जानसमेत अस्वीकार गर्छन् ।

अभिभावकहरूले पनि बालबालिकालाई फकाउन वा व्यस्त राख्न मोबाइलको सहारा लिन थालेका छन् । यो प्रवृत्तिले नोमोफोबियालाई झनै बढावा दिएको छ । बालबालिकामा होइन, मोबाइलको पहुँच भएको र यसलाई चलाउन जान्ने अधिकांशमा यो प्रत्यक्ष–अप्रत्यक्ष रुपमा देख्न सकिन्छ ।

कारण

नोमोफोबिया किन हुन्छ भन्ने स्पष्ट कारण पत्ता लागिसकेको छैन । तर, केही पक्ष यसका लागि जिम्मेबार मानिन्छन् ।

– स्मार्टफोनले धैर्यताको बानी विकास गर्न दिँदैन । किनकी, यस्ता डिजिटल उपकरणले तुरुन्तै नतिजा दिन्छ । मनले चाहनेबित्तिकै कुनै कुरा खोज्न वा कसैसँग कुराकानी गर्न छिटो र सहज बनाउँछ ।

– यसले मनोरन्जन पनि दिइरहेको हुन्छ । जसले लत लाग्ने र बारम्बार प्रयोग गर्ने बानी बस्छ।

– पहिलेदेखि नै चिन्ता वा डरको समस्या भएकाहरूलाई नोमोफोबिया हुनसक्छ ।

– मोबाइलबारे बारम्बार सोच्ने र धेरै प्रयोग गर्ने बानी ।

–घुलमिल हुन नसक्ने, अरूसँग कुराकानीमा असहज महसुस हुने वा आफूलाई कमजोर ठान्ने भावना ।

– कुनै काम नगर्ने, विलासिताको जीवन विताउने ।

नोमोफोबिया भएको कसरी थाहा पाउने ?

नोमोफोबियाले प्रभावित व्यक्तिमा विभिन्न शारीरिक, मानसिक, र व्यवहारगत लक्षणहरू देखिन्छन् ।

जस्तो कि,

– दिनको अधिकांश समय मोबाइल वा डिजिटल मिडियामा बिताउने । सुत्दा पनि मोबाइल नजिक राख्ने र २४ सै घण्टा फोन अन राख्ने ।

– एकभन्दा बढी मोबाइल फोन प्रयोग गर्ने वा सधैं चार्जर बोकेर हिँड्ने ।

– मोबाइल नजिक नहुँदा, ब्याट्री कम हुँदा, वा इन्टरनेट कनेक्शन नहुँदा अत्तालिने, डराउने वा छटपटाउने ।

– फोन नबज्दा पनि बजेको भान हुने । बारम्बार फोन चेक गर्ने र सन्देश वा सूचना नआउँदा पनि मन बेचैन भइराख्ने ।

– मोबाइलबिना सामाजिक गतिविधि वा संवादमा सहभागी हुन गाह्रो मान्ने । यस्ता गतिविधिबाट टाढा रहने ।

– माथि उल्लेखित जस्तो नहुँदा डर, रिस, छटपटी, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, एकाग्रता कम हुने र दैनिक काममा बाधा पुग्ने ।

यी लक्षणहरूले बालबालिकाको पढाइ, सामाजिक सम्बन्ध, र व्यक्तित्व विकासमा दीर्घकालीन असर पार्छ ।

नोमोफोबियाको प्रभाव

नोमोफोबियाले बालबालिकाको बौद्धिक, भावनात्मक र सामाजिक विकासमा गम्भीर असर पार्छ ।

अहिले धेरैजसो बच्चा कोहीसँग नबोल्ने, मोबाइलमा मात्र घन्टौंसम्म एकोहोरिने, मुख ठुस्स पारेर बस्ने, बोलाउँदा पनि नबोल्ने गरेको छरछिमेक, साथीभाइ वा परिवारमै देखेको हुनुपर्छ ।

डिजिटल मिडियाको अत्याधिक प्रयोगले उनीहरूको रचनात्मकता, समस्या समाधान गर्ने क्षमता र सामाजिक घुलमिल गर्ने बानीमा ह्रास आउँछ । मोबाइलमा लत लाग्दा बालबालिकाले बाहिरी खेलकुद, प्रकृतिसँगको मिलाप र साथीहरूसँगको प्रत्यक्ष अन्तरक्रियाबाट उनीहरु वञ्चित हुन्छन् । यसबाहेक, उमेर नपुगी अनुचित सामग्रीको सम्पर्कमा आउने जोखिम पनि उत्तिकै छ ।

मोबाइल नहुँदा देखिने रिस, जिद्दीपन, र छटपटीले उनीहरूको मानसिक स्वास्थ्यमा थप जटिलता थप्छ । झिल्को चलचित्रले पनि यी सबै पक्षलाई कथाको माध्यमबाट देखाएर समाजमा चेतना जगाउने प्रयास गरेको छ ।

उपचार

मोबाइल नहुँदा डर लाग्ने समस्यालाई आधिकारिक रूपमा रोग मानिएको छैन । यो हालै देखिएको नयाँ अवस्था हो । त्यसैले यसको विशेष उपचार छैन । तर, मनोचिकित्सकले अन्य डर (फोबिया) को उपचारजस्तै यसको पनि उपचार गर्छन् ।

– व्यवहार सम्बन्धी थेरापीः यी थेरापीहरूले डर र नकारात्मक विश्वासलाई कम गर्न मद्दत गर्छन् । नोमोफोबियाको लागि यो थेरापीले फोन हराउने, सम्पर्कमा नहुने वा फोन प्रयोग गर्न नपाउने डरलाई समाधान गर्न सक्छ ।

– कग्निटिभ बिहेभियरल थेरापी (सीबीटी) : यो थेरापीमा व्यक्तिलाई डर पैदा गर्ने विचारहरूलाई सामना गर्न र बदल्न सिकाइन्छ ।

–एक्सपोजर थेरापी (बिस्तारै डरको सामना गर्ने) : यसमा व्यक्तिलाई बिस्तारै फोन नहुँदाको अवस्थामा राखिन्छ, ताकि डर कम होस् ।

हिप्नोथेरापीः यो थेरापीमा मनोवैज्ञानिकले व्यक्तिलाई शान्त रहन र फोन नहुँदा पनि सहज हुने तरिका सिकाउँछन्, जस्तैः दिमागमा शान्त तस्बिरहरू कल्पना गर्ने ।

यी उपायहरूले नोमोफोबियाको डरलाई बिस्तारै कम गर्न मद्दत गर्छ ।

यो समस्या देखिएपछि कसरी नियन्त्रण गर्ने ?

नोमोफोबियालाई नियन्त्रण गर्न व्यक्तिगत, पारिवारिक, र सामाजिक तहमा सचेत प्रयास आवश्यक छ ।

– डिजिटल मिडियाको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे सचेत हुने ।

– बालबालिकालाई मोबाइल प्रयोगका लागि निश्चित समय तोक्ने ।

– उनीहरूलाई बाहिरी खेल, रचनात्मक गतिविधि र परिवारसँग समय बिताउन प्रोत्साहन गर्ने ।

– नोमोफोबियाका लक्षण देखिएमा तुरुन्तै मनोचिकित्सक, मनोविद् वा स्वास्थ्यकर्मीसँग परामर्श लिने ।

– बालबालिकालाई मोबाइलको सट्टा अन्य रुचिकर गतिविधिमा संलग्न गराउने। उनीहरूको भावनात्मक आवश्यकतामा ध्यान दिने ।

– निश्चित समय मोबाइल र इन्टरनेटबाट टाढा रहने अभ्यास गर्ने ।

-डा. ईश्वरी खनाल
कन्सल्टेन्ट मनोचिकित्सक

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज