चैत ०८
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमाको दायरा पाँच लाख पुर्याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले स्टोकलगायत ठूला रोगको औषधि महँगो हुने भन्दै उपचारमा बीमा बाहेकको विकल्प खोज्नुपर्नेमा जोड दिए ।
स्वास्थ्यमन्त्री पौडेलले ठूला रोगको उपचार समयमा पाउन नसक्दा बिरामीको अङ्गभङ्ग वा मृत्यु समेत हुनसक्ने भन्दै उनले समयमा उपचार पाउन नसकेर मृत्यु भएको मृतकका परिवार थुप्रै समस्या लिएर मन्त्रालयमा आउने गरेको बताउदै राज्यले स्वास्थ्य सेवाका लागि उपयुक्त विधि र स्रोतको व्यवस्था नगरेकाले स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न कठिन भएको बताए । नेपाली जनतालाई स्वास्थ्य सुविधा दिन बीमा नै एक मात्र विकल्प भएकाले बीमालाई व्यवस्थित गर्न आफूले काम गरी रहेको उनको भनाई छ ।
कार्यक्रममा मष्तिष्क पक्षघातको उपचारका लागि अमेरिकी सहयोगमा औषधि प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त औषधि मष्तिष्क पक्षघात भएको बिरामीलाई चार घण्टाभित्र इन्जेक्सनमार्फत प्रयोग गर्नसके बिरामीको ज्यान जाने खतराबाट बचाउन सकिने मन्त्रालयको भनाइ छ ।