निराजन पौडेल
फागुन ७ पाल्पा ।
बगनासकाली गाउँपालिका ६, यम्घामा पछिल्लो समय स्थानीय राजनीतिक गतिविधि सक्रिय बन्दै गएको छ । लामो समयदेखि विभिन्न दलमा आबद्ध रहेका दर्जनौँ स्थानीयवासी तथा कार्यकर्ताले आफ्नो पुरानो पार्टी परित्याग गरी हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपाका क्षेत्रीय सभापति गणेश बस्यालका अनुसार नयाँ सदस्यहरू परिवर्तनमुखी सोच र विकासप्रतिको प्रतिबद्धतासहित पार्टीमा आबद्ध भएका हुन् । उनले स्थानीय तहमा पारदर्शी, जनमुखी र विकासकेन्द्रित राजनीति अघि बढाउने उद्देश्य रहेको बताए ।
नयाँ प्रवेश गर्ने कार्यकर्ताहरूले विगतमा अपेक्षित उपलब्धि हासिल नभएको र जनताका आवश्यकताअनुसार काम हुन नसकेको भन्दै नयाँ विकल्प रोजेको स्पष्ट पारेका छन् । उनीहरूले गाउँस्तरमा विकास, सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताएका छन् ।
रास्वपाले पाल्पा जिल्लाका विभिन्न स्थानीय तहमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै आएको छ ।