निराजन पौडेल
माघ २८, पाल्पा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी माहोल बढ्दै गएको छ । उम्मेद्वारहरू यतिखेर घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् ।
पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेय घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग आफ्ना चुनावी एजेन्डा र विकासका योजनाबारे जानकारी गराइरहेका छन् । उनले सही नेतृत्वको अभावमा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अबको सरकार सक्षम र दूरदर्शी हुनुपर्ने बताएका छन् । विकास निर्माणलाई गति दिन र देशलाई सही दिशामा अघि बढाउन मतदाताले सचेत निर्णय लिनुपर्ने उनको भनाइ छ । मतदातासँगको छलफलमा पाण्डेयले आफू नागरिकको सुख, दुःखमा सधैं साथमा रहेको र आगामी दिनमा निर्वाचित भए वा नभए पनि जनताको माग र आवश्यकताअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, समानुपातिक तर्फकी उम्मेद्वार पार्वति विक पनि घरदैलो अभियानमा सक्रिय रूपमा सहभागी भइरहेकी छन् । उनले महिला, दलित तथा विपन्न समुदायका मुद्दालाई प्राथमिकतामा राख्दै समावेशी विकासका लागि आफ्नो प्रतिबद्धता दर्शाएकी छन् । मतदातासँग समर्थन माग्दै उनले सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न आफू दृढ रहेको बताइन् ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी पाल्पाले आफ्नो प्रतिबद्धता पत्र आज दिउँसो ३ बजे सार्वजनिक गर्ने जनाएको छ । उक्त प्रतिबद्धता पत्रमार्फत पार्टीले विकास, रोजगारी, पूर्वाधार विस्तार तथा सामाजिक न्यायका विषयमा आफ्ना योजनाहरू सार्वजनिक गर्ने तयारी गरेको छ ।
उम्मेद्वारद्वयले घरदैलो कार्यक्रममार्फत मतदाताका गुनासा र सुझाव सुन्दै समावेशी विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । पाल्पा क्षेत्र नं. २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा उम्मेद्वारहरू आ-आफ्ना पक्षमा माहोल बनाउन मतदाताको घरदैलोमा पुगिरहेका छन् ।