असोज २ । विदेशमा रहेका नेपालीलाई पनि आगामी निर्वाचनमा मतदान गर्न सक्ने वातावरण बनाउने तयारीमा सरकार लागेको छ । विदेश स्थित विभिन्न देशमा बसोवास गर्ने नेपालीहरुका लागि भोटिङ एक्सेस प्रदान गर्ने गरी तयारी गरेको बुझिएको छ । यसका लागि सरकारलाई कानुनी अधिकार पनि आवश्यक हुन्छ । जसका लागि सरकारले अध्यादेशबाटै भएपनि कानुन निर्माण गरेर उक्त कार्यको तयारी गर्न लागिएको स्रोतको दाबी छ ।
गृहमन्त्रीको कसरतः
गृहमन्त्री ओमप्रकाश अर्यालले यसपटक जसरी भएपनि विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने गरी विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने सक्ने व्यवस्था गर्न आफूले कसरत गरिरहेको उनले बताएका हुन् । निर्वाचन आयोगले शुरु गरेको निर्वाचन सम्बन्धी छलफलमा बिहीबार कानुन मन्त्री समेत रहेका मन्त्री अर्यालले यस्तो बताएका हुन् ।