निराजन पौडेल
भदौ २२,पाल्पा ।
घरको आगन, आमाको ममतामयी अंगालोे र डाडाँकाडाँ काट्दै विद्यालय जाने ती सम्झनाहरु अझै पनि उहाँको ह्रदयमा ताजै छन् ।
सानै उमेरमा वैदेशिक रोजगारीको यात्रामा निस्कनु भएका बगनासकाली गाउँपालिका ८ धारापानीका झबिन्द्र बस्यालको मनमा थियो ‘केही वर्ष विदेशमा काम गरेर फर्किने अनि परिवार र आफ्ना सपना पुरा गर्ने ।’
तर त्यो केही वर्ष भन्ने सोच झन्डै १४/१५ वर्ष विदेशी जिन्दगीमा बदलियो । सिङगापुर, कतार, साउदी,दुवै जहाँका घाम उस्तै तातो लाग्थ्ये ,भाषाहरु फरक थिए तर श्रमको पिडा भने एउटै ।
आत्मनिर्भर बन्ने विउ विदेशमै पलायो !
कयौँ देशहरु चारिरहँदा दुवैमा बस्यालले फुल बगैचामा काम गर्नुभयो । बिहानदेखी बेलुकासम्म फुल रोप्ने, माटो खनजोत गर्ने, र पानी हाल्ने काममै उहाँका दिन बित्थ्ये ।
उहाँ भन्नुहुन्छ :- “कहिले काडा टेक्दै, कहिले नाङ्गो खुट्टाले तातो बालुवा छोईदै हिडीयो , जिन्दगीको बाटो सहज आखिर के नै थियो र ! सपनाहरु टाढा देखिन्थ्ये , घरको सम्झनाले सताउथ्यो । सुरुमा त काम मजदुरी मात्रै लाग्थ्यो तर बिस्तारै फुल सँग माया बस्न लाग्यो ।”
बस्याल थप्नुहुन्छ:- “पराई देश, फरक भाषा, सम्मानको अभाव जस्ता कुराबाट थाकेको मनले बिउ भने रोपेको थियो आत्मनिर्भर बन्ने ।” कुन माटोमा कुनजातको फुल राम्रो हुन्छ ,कुन सिजनमा कुन फुल राम्रो हुन्छ, फुलमा रोग लागे के गर्ने, मल र पानीको सन्तुलन कसरी राख्ने यी सबै कुराहरु उहाँले मनै देखी सिक्नुभयो ।
विदेशबाट फर्किएपछि आफ्नै माटोमा रोप्नुभयो सपना


स्वदेश फर्किएपछि उहाँले फुलखेती सुरुवात गर्नुभयो । धेरैका लागी त्यो नौलो कुरा थियो । गाउँका केहीले त ठट्टा पनि गरे फुल बेचेर पैसा कमाउने भन्दै ! सबैले मजाकमा उढाए !
तर उहाँको बलियो आत्मबलले सबै शंका चिर्दै अहिले सफलता फुलाएको छ । आज झबिन्द्र बस्यालको बारीमा बर्खा होस या त हिउद फुलहरु ढकमकायका छन । कर्मा १११ ५५५ , टेनिसवल, टेनिसप्लस, जाम्री, विजुली, गोदावरी फुलहरु बाह्रैमास फुलिरहन्छन् । फुलखेती सँगै उहाँले सुरु गर्नुभएको ‘लवकुश कृषि फर्म’ मार्फत माछापालन, कुखुरा पालन, बार्खा पालन पनि गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ:- “विदेशले मलाई पैसा त दियो , तर अझ ठूलो कुरा सिकायो आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ ।”
वार्षिक ७ लाख सम्मको आम्दानी
बस्यालले फुलखेतीबाट वार्षिक ७ लाख रुपैया सम्म आम्दानी गदै आउनुभएको छ । स्याङ्जा, गुल्मी, पर्वत,आर्घाखाची त्यस्तै रामपुर, बुटवल, पोखरा हुदै काठमाडौ सम्म उहाँका फुल पुगीरहेका छन् ।
फुलसँग वितेको परिश्रम आज सपना बनि आफ्नै माटोमा फुलिरहको छ । अनुहारमा मन्द मुस्कान सहित उहाँ भन्नुहुन्छ:-
“दुबैमा अरुको बगैचामा फुल रोपेर बिताए, आज आफ्नै बारीमा सपना फुलाउदै छु ।”


झबिन्द्र बस्यालको यो अनुभव र अनुभूती भनेको श्रम, सिकाई र आत्मनिर्भरताको सुगन्धले भरिएको एउटा फुलबारी हो । उहाँले विदेशमा काम गरेर मात्र होइन सपना बोकी फर्किएर त्यो सपना आफ्नो माटोमा रोप्नुभयो । र, त आज त्यो सपना फुलिरहेको छ । यसको सुवास गाउँभरी फैलिएको छ ।