भदौ २१,
स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकले आउँदो कात्तिक १ गतेदेखि सहुलियत सुविधा पाउने भएका छन् । ८ प्रकारका कडा रोगमा एकीकृत सुविधा पाउन सकिन्छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णय अनुसार आउँदो कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
यो सुविधा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।