तीजको दरखाने दिन आज

भदौ ९,
हरितालिका तीजको अघिल्लो दिन आज देशभर दर खाइदै छ । तीजको दिन भोलि (मंगलबार) महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ ।

आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने गर्छन् । हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ । दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा र आडिला परिकार खाने गरिन्छ ।

पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःख सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ ।

नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भएपनि सहर बजारमा भने केही दिनअघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन् ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र सोही उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहँदै आएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज