आसार ३,
ऋण दिँदा घुस, त्यो पनि बैंक सञ्चालक समितिकै अध्यक्षबाट ! झट्ट सुन्दा विश्वास नलाग्न सक्छ । तर मुलुककै पहिलो र सरकारीमध्येको एक, नेपाल बैंक लिमिटेडमा यस्तै भएको छ ।
हाल पदमुक्त भइसकेका बैंकका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीलाई ऋणीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेको छ । तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले उनीमाथि तीनवटा घटनामा ७४ लाख रुपैयाँ घुस खाएको अभियोग लगाएको छ ।
तनहुँमा पेट्रोल पम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । त्यसको सुइँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले ऋणका लागि निवेदन दिने आवेदकहरूलाई भेटेर घुस मागेको अख्तियारको आरोप छ ।
कुल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोड ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक पर्ने भनी उनले सेवाग्राहीसँग घुस मागेका थिए । उनकी पत्नी मधुमाया अधिकारीको खातामा सुरुमा ५ लाख, त्यसपछि चेकमार्फत १५ लाख र ३० लाख रुपैयाँ ‘डिपोजिट’ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सुरुमै घुस लिएका उनले पछि ऋण दिन ढिला गरे । त्यसपछि घुस लिएर पनि काम नगरेको आरोपमा अविनाश श्रेष्ठको नामबाट नेपाल राष्ट्र बैंकमा उजुरी पर्यो । उजुरीपछि अधिकारीले मिलापत्र गर्नुका साथै पत्नी मधुमायाको खाताबाट अविनाशको खातामा ५० लाख रुपैयाँ फिर्ता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले आफ्नो र पत्नीको खातामा घुस माग्ने क्रममा प्रायः आफ्ना ड्राइभर उमेश महर्जनमार्फत कारोबार गरेको भेटिएको छ । हुन पनि ड्राइभरसँगको १४ पटकको कारोबारबाट उनले २५ लाख ५७ हजार रुपैयाँ लिएका थिए । त्यस क्रममा उनीहरूले बारम्बार नगद, मोबाइल बैंकिङ र चेकमार्फत कारोबार गरेको खुलेको छ ।
११ भदौ २०८० मा नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका अधिकारी डा. चन्द्रबहादुर अधिकारीले घुस माग्न थालेको उजुरीपछि नेपाल राष्ट्र बैंकले नै छानबिन गरेको थियो । त्यही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
-रासस