जेठ १३,
बागलुङ-
जैमिनी नगरपालिकामा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पाँच किमी सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। जैमिनीधामदेखि कुश्मिसेरा हुँदै मौलाछसम्मका तीन खण्डमा भइरहेको सडक स्तरोन्नतिसँगै कालोपत्रको लागत आठ करोड १८ लाख रुपैयाँ रहेको छ।
टाकुरी खण्डको एक किमी सडक एक करोड २६ लाख रुपैयाँमा कालोपत्र भइरहेको छ भने कुश्मिसेराबाट ब्याडथालसम्मको दुई किमी सडक कालोपत्रको तयारीमा छ।
नगर उपप्रमुख हरिहर शर्माका अनुसार, बागलुङ–कुश्मिसेरा सडकको सबै खण्डमा कालोपत्र हुने भएपछि अब बागलुङ बजारबाट सिधै कुश्मिसेरा पुग्न सकिने भएको छ। निर्माण कम्पनीले तीन करोड २० लाख रुपैयाँमा जैमिनीधाम–कुश्मिसेरा सडक पनि कालोपत्र गर्दैछ।
सडकहरू चौडा पार्नुका साथै नाली निर्माण, ढलान र ग्यावियन जाली जडानपछि कालोपत्र कार्य भइरहेको छ। असारभित्र सबै पाँच किमी सडक कालोपत्र सम्पन्न हुने नगरपालिकाले जनाएको छ।