वैशाख ७,
आज आइतबार पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। शनिबार कुनै कारणले छुटेका बालबालिकालाई लक्षित गर्दै आज खुवाइने भएको हो। सरकारले वैशाख ६ र ७ गतेलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तय गरेको थियो ।
जसअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ ।
६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार समेत दिने गरिन्छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन देशभर महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएका छन् ।
यो पटक पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ।