पाल्पामा राजनीतिक चहलपहल बढ्दै, रवि लामिछानेको जनसंवाद कार्यक्रम आज

निराजन पौडेल
माघ २९, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने आज पाल्पा आउने भएका छन्। लामिछाने जनसंवाद कार्यक्रमका लागि पाल्पा आउँदै गर्दा जिल्लाको राजनीतिक माहोल थप सक्रिय बनेको छ । पछिल्लो समय देशव्यापी रूपमा सञ्चालन भइरहेको केन्द्रीय जनसंवाद अभियानअन्तर्गत लामिछाने विभिन्न जिल्लामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। सोही अभियानको निरन्तरतामा आज उनको पाल्पा आगमन हुन लागेको हो ।

रास्वपा पाल्पाका जिल्ला सभापति विष्णु भण्डारीका अनुसार लामिछाने आज दिउँसो करिब ४ बजे रामपुर आइपुग्ने कार्यक्रम तय भएको छ । रामपुरमा छोटो स्वागत कार्यक्रमपछि उनी साँझ ६ बजे तानसेन आउने कार्यतालिका रहेको छ । तानसेनस्थित टुँडिखेलमा शुभेच्छुक तथा समर्थकहरूसँग भेटघाट तथा सम्बोधन कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा उनले पार्टीको वर्तमान गतिविधि, भावी रणनीति र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ ।

जिल्ला सभापति भण्डारीले भने, “केन्द्रीय सभापति रवि लामिछानेज्यूको आज पाल्पा आगमन निश्चित भएको छ। रामपुर र तानसेनमा भेटघाट कार्यक्रम तय गरिएको छ । सम्पूर्ण शुभेच्छुक तथा समर्थकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । ” उनका अनुसार कार्यक्रम व्यवस्थापनका लागि जिल्लास्तरमा विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्र पारिएको छ।

सभापति लामिछानेको आगमनलाई लिएर पाल्पामा राजनीतिक माहोल थप सक्रिय बनेको छ । अन्य दलका नेताहरूले पनि भ्रमणलाई चासोका साथ हेरेका छन् ।  पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले भ्रमणलाई सफल बनाउन प्रचार–प्रसार, स्वागत तथा व्यवस्थापनका कामलाई तीव्रता दिएका छन् भने समर्थकहरू उत्साहपूर्वक स्वागतको प्रतीक्षामा रहेका छन्। पाल्पा भ्रमणपछि लामिछानेको गुल्मी जाने कार्यक्रम रहेको बताइएको छ ।

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज