जेठ ०७,
पूर्वखोला गाउँपालिका पाल्पाको स्वास्थ्य संस्था पोषणमैत्री भएका छन् । रिङ्नेरह, बीरकोट, देवीनगर, हेक्लाङ, जल्पा, सिलुवा स्वास्थ्य चौकी पोषणमैत्री भएसँगै पूर्वखोला पोषणमैत्री पालिका बनेको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले पूर्वखोला गाउँपालिका–१, सिलुवा र २ जल्पा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै सिङ्गगो पालिका नै पोषणमैत्री स्वास्थ्यसंस्था भएको पालिका बनेको बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतले वडा कार्यालय र स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गर्दै सबै स्वास्थ्य संस्था पोषणमैत्री भएको घोषणा गरेका हुन् ।
गाउँपालिकाका सबै स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पश्चात सबै सुचकहरुलाई कायम राख्दै थप बलियो बनाउनुपर्ने स्वास्थ्यमन्त्री सारुले जोड दिए । घोषणा गर्दा पूरा गर्नुपर्ने सुचकहरुमा निरन्तर अध्ययन अनुगमन, कार्यन्वयन गर्न गराउनुपर्नेमा जिल्ला समन्वय प्रमुख टंकनाथ खनालले बताएका थिए ।