बैशाख २१,
कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसैबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिनुभएको छ ।
प्रवेशपत्रमा उहाँको जन्म वि.सं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरी तथा तीन जना नातिनातिनाकी हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाउनुभएको हो । उहाँले एसइई परीक्षा भने गोङ्गबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उर्तीण गर्नुभएको थियो । उहाँका श्रीमान विद्यालयका शिक्षक हुनुहुन्छ ।