वैशाख ३,
राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले एक विज्ञप्ति निकालेर शिक्षाजस्तो संवेदनशील क्षेत्रमा देखिएका समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो । यस्तै कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरूसँग विगतमा सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्न पनि आयोगले अनुरोध गरेको छ ।
शिक्षकको आन्दोलन तथा यसबाट बालबालिकाको शिक्षाको अधिकारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान प्रभावित हुने देखिएको, आन्दोलनका कारण माइतीघर क्षेत्रमा यातायातमा समेत प्रभाव परेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलन गर्दै आएका शिक्षकहरूले हिजो नयाँ बानेश्वरमा धर्ना दिए । माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमै धर्ना दिएका हुन् । नेपाल शिक्षक महासङ्घले दुई हप्तादेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेको छ ।