‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

चैत १९
घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साता सम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, चलचित्रको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ । उनले भने, “हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।”

निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे । “नेपाली दर्शकले राम्रो सिनेमा रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ । कथा, प्रस्तुतीकरण, र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने आशा छ,” चाम्सले भने । ‘अञ्जिला’ विश्वभरका १६ देशमा प्रदर्शनमा आउँदै छ । नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकहरूले चलचित्रको माग गरेको निर्देशकले बताए ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ ।

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज