फागुन २४
युगान्डामा सञ्चालन हुने नारी दिवस कप चार देशीय महिला टी-२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्दै छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार अपराह्न ४:४५ बजे हुने खेल नेपालका लागि नामिबियाको महिला टोलीसँगको पहिलो भेट हो।
शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ। सबै टोलीले एकअर्कासँग सामान दुई/दुई खेल खेल्नेछन्। देशका लागि अहिलेसम्म च्याम्पियन ट्रफी ल्याउन नसकेकाले यसपालि त्यो खडेरी तोड्ने लक्ष्यका साथ मैदान प्रवेश गर्न लागेको कप्तान इन्दु बर्माले बताएकी छन्।
यसअघिका त्रिदेशीय शृंखलामा धेरै कमजोरीहरू सुधार भएकाले अहिले नेपाली टोली उत्कृष्ट अवस्थामा रहेको पनि उनले सुनाइन्। हामी बेस्ट स्पट (उत्कृष्ट अवस्था) मा छौँ,’ इन्दु भन्छिन्, ‘भर्खरै हामीले त्रिदेशीय शृंखला खेल्यौँ। हामीले हाम्रो तर्फबाट गुड क्रिकेट खेल्न खोजिरहेका छौँ। त्रिदेशीय शृंखलामा जे–जस्ता कमजोरी थिए, सम्पूर्ण प्रयासका साथ हामी रेडी छौँ। समग्र तयारी एकदमै राम्रो पनि छ। एकदम सकारात्मक पनि छौँ। देशलाई प्रतिनिधित्व गरेर च्याम्पियन ट्रफी ल्याउन पाएको छैन। च्याम्पियन भएर फर्किनु मुख्य लक्ष्य हो।’