फागुन ४,
आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक प्रचार-प्रसार सुरु भएको छ । मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यम मार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्था अनुसार फागुन १८ गते राति १२ बजेसम्म दल र उम्मेदवारहरूले प्रचार गर्न सक्नेछन् ।
निर्वाचन आयोग नेपालले आचारसंहिताको पूर्ण पालना गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्म गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारेका छन् ।
दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममार्फत विज्ञापन गर्न सक्नेछन् भने सभा-समारोहको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । साथै, सामाजिक सञ्जालमार्फत झुटा सूचना, दुष्प्रचार अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ ।